तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला :वीरगन्ज

नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेको हो ।

तीनै जनाको नमूना हिजो बाग्मती प्रदेशको राजधानी हेटौंडाको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । थप प्रस्टताका लागि नमुना पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पनि उनीहरुमा कोरोना संक्रमण भएको भेटिएको बताइएको छ । तीनैजनामा कोरोना संक्रमण भेटिएपनि सरकारले औपचारिक रुपमा यसको जानकारी गराएको छैन ।

आज अपरान्ह चार बजे स्वास्थ्य मन्त्रालयमा हुने नियमित पत्रकार सम्मेलनमा यसवारे विस्तृत जानकारी सार्वजनिक हुने बताइएको छ । कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।

संक्रमण भेटिने तीनै जना भारतीय मुस्लिम धर्म प्रचारकहरु रहेको बताइएको छ । उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको छ ।

उनीहरुसँगै मस्जिदमा रहेका अन्य २१ जनालाई पनि सिद्धार्थ माबिको क्वारेन्टाइनमा सारिएको छ । यसअघि संक्रमण भेटिएका एक जना घर फर्किसकेका छन । आठ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *