अध्यक्ष काफ्लेका कारण गुम्यो कानेपोखरीका गरिब, बिपन्न कोरोना प्रभावितको ५ लाख राहत

नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितका लागि तीन नगरपालिकालाई ३० लाख ३६ हजार राहत रकम प्रदान गरे । बेलबारीमा भेला भएर सुन्दरहरैंचा, पथरीशनिश्चरे र बेलबारीका नगर प्रमुखले डा.शर्माबाट राहतको चेक बुझे र गरिब, बिपन्न तथा कोरोना प्रभावित जनतासमक्ष राहत पुर्याउँने प्रतिवद्धता जनाए ।

गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारसमेत बनेका कांग्रेस नेता डा.शर्मा तीन नगरपालिकालाई मात्र राहत दिन बेलवारी पुगेका थिएनन् । उनी क्षेत्र नं.३ का चार वटै पालिका अर्थात कानेपोखरी गाउँपालिकालाई पनि ५ लाख राहत हस्तान्तरण गर्ने घोषणा गरेर बेलबारी गएका थिए । डा.शर्माले चार वटै पालिकालाई प्रदेशकै सर्वाधिक रकमको राहत प्रदान गर्न लागेको खबरले सामाजिक सञ्जालका भित्ता बिहानैदेखि रंगिएका थिए । तर, अन्ततः कानेपोखरी बाहेकका नगरले मात्र राहतको चेक बुझे ।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले पूर्व निर्धारित कार्यक्रममा राहतको चेक बुझ्न गएनन् र दाता डा.शर्माले कानेपोखरीबासीलाई दिन ठिक्क पारेको ५ लाख रकम उम्कियो । अध्यक्ष काफ्ले राहत बुझ्न नगएपछि कोनेपोखरीको भागमा परेको रकम डा.शर्माले फिर्ता नलग्ने भन्दै तीन नगरपालिकालाई नै थपिदिए । यता, कानेपोखरी अध्यक्ष काफ्लेले आफुलाई आधिकारीक जानकारी नआएकाले राहत बुझ्न नगएको बताएका छन् । तर, आधिकारीक जानकारीको कुरा गरेर राहत लिन नआउँनुमा कुनै तुक नरहेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी बताउँछन् ।

राहत लिनका लागि चार वटै पालिकाका प्रमुखहरु बेलबारीमा भेला हुने सहमति भएको भएपनि कानेपोखरी अध्यक्ष काफ्ले नआएको नगर प्रमुख सुवेदीले बताए । ‘सबैको सेन्टर पर्ने भएकाले बेलबारीमा राहत ग्रहण गर्ने कार्यक्रम तय गर्यौ । कानेपोखरी अध्यक्ष काफ्लेसँग पनि अघिल्लो दिनदेखि ५ पटक फोन सम्पर्क भएको थियो । उहाँ आउन तयार हुनुहुन्थ्यो । तर, पूर्व निर्धारित कार्यक्रमको समय भईसकेपछि अन्तिममा फोन सम्पर्क हुँदा उहाँले म नआउँने भए भन्नुभयो र आउँनुभएन ।’ सुबेदीले भने ‘उहाँले आधिकारीक व्यक्तिले खबर गर्नुपर्यो भन्नुभएको भए म वीचमा पर्नुपर्ने कामै थिएन । सुनिल जीलाई आफै सम्पर्क गर्नु भन्दिने थिए ।’

बेलबारी नगरप्रमुख सुवेदी र कानेपोखरी गाउँपालिका प्रमुख काफ्ले दुवै नेकपा निकट हुन् । बेलबारी नगर प्रमुख सुवेदीसँग राहतको बिषयमा फोनमा कुरा भएको कानेपोखरी अध्यक्ष काफ्ले पनि स्वीकार गर्छन् । उनले राहत स्वीकार नगर्नुमा आधिकारीक जानकारीको कुरा बहाना मात्र भएको दाता डा.शर्माको बुझाई छ । डा.शर्माले राहत हस्तान्तरण कार्यक्रममा मन्तव्यकै क्रममा राहत लिन नआउँनुमा राजनीतिक कारणको आशंका व्यक्त गरेका थिए । ‘तारा सर जस्तो मान्छेले राहतको कुरामा राजनीति भन्दा माथि उठ्न सक्नुपथ्यो । गाउँपालिकाबासीलाई दिन लागेको राहत स्वीकार्न चाहनु भएन ।’ भन्दै उनले भावुक शैलिमा दुःख व्यक्त गरेका थिए । आफु काँग्रेस भएकाले नेकपा निकट अध्यक्ष काफ्लेले जनताको राहत पनि अस्वीकार गरेको डा.शर्माको संकेत थियो ।

डा.शर्माले अहिलेको अवस्थामा जनतानै सर्वपरी भएकाले गाउँपालिका अध्यक्षले राहत स्वीकार नगरेपनि कांग्रेस पार्टीको तर्फबाट राहत बाढ्ने बताएका छन् । राहत ग्रहण नगरेको घटनाले अहिले कानेपोखरीमा राजनीतिक असन्तुष्टि चुलिने संकेत पनि देखाएको छ । गाउँपालिकाले बिज्ञप्ति जारी गरेर खातामा रकम जम्मा गर्न सकिने भएपनि बहानाबाजी गरेको आरोप लगाएको छ भने काँग्रेस कानेपोखरीले राहत ग्रहण नगरेको घटनालाई गंभीर त्रुटी र अक्षम्य घटनाको संज्ञा दिएर भत्सना गरेको छ । राहतमा नेकपाको मनोमानी बढेको भन्दै कानेपोखरी काँग्रेसले बिज्ञप्ति जारी गरेर अब राहत वितरणको एकद्वार प्रणाली उलंघन गर्ने चेतावनीसमेत दिइसकेको छ । ३ नम्बर क्षेत्रका तीन नगरपालिकामा एकद्वार प्रणाली मान्ने भएपनि कानेपोखरीमा नमान्ने भन्दै काँग्रेसले राहत संकलनका लागि अभियान पनि थालिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *