उदयपुर : हल्ला मात्रै, जमातीले कोरोना सारेको होइन, सत्य आर्कै रहेछ

काठमाडौं : वैशाखको पहिलो साता उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसिरहेका १२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक थिए भने अर्का जमाती विराटनगरका थिए ।

उनीहरूको सम्पर्कमा आएका ६८ जनाको थ्रोट स्वाब संकलन गरेर जाँच गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

त्यसपछि पनि संक्रमित थपिए र कुल संक्रमितको संख्या २८ पुग्यो । तर, संक्रमणको स्रोत पत्ता लाग्न सकेको थिएन । किनकि जमातीहरू चार महिनादेखि नेपालमै रहेको बताइरहेका थिए ।

त्यसो हो भने संक्रमण सुरु भयो कहाँबाट भन्ने खोज्न स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आफ्नो नो विज्ञ टोलीलाई भुल्के पठायो । विज्ञ टोली एक साता त्यहाँ बसेर भर्खरै मात्र काठमाडौं फर्किएको छ र सो टोलीको निष्कर्ष छ- जमातीले होइन, जमातीलाई कोरोना सारेको रहेछ ।

स्थलगत अध्ययनमा गएका एकजना विज्ञले उदयपुर भुलेको अनुभव यसरी सुनाए –

हामी एक साताअघि कोरोनाको हटस्पट बनेको उदयपुरको भुल्के भन्ने ठाउँमा पुगेका थियौँ । त्यहाँ गएर हामीले सुरुमा स्थानीय जनप्रतिनिधि र त्यहाँका अगुवाहरूलाई भेटेर छलफल गर्‍यौं । लगत्तै संक्रमितको नजिक रहेका मानिसहरूको पनि खोजी गर्न थाल्यौँ । त्यसको लागि हामीले स्थानीय अगुवाहरूलाई सहयोग गर्न अनुरोध गर्‍यौं । सुरुमा उहाँहरू डराउनु भएको थियो तर हामीले कन्भिन्स गर्‍यौँ । हामीलाई स्थानीय स्वास्थ्यकर्मीले पनि सघाए ।

त्यसपछि स्थानीय अगुवा र स्वास्थ्यकर्मीहरूलाई आशंकित मानिसको कसरी कन्ट्याक ट्रेसिङ गर्ने भनेर सिकायौँ । जस्तो कि कुनै व्यक्तिको नाम मात्र लेख्दा उसलाई भेट्न गाह्रो हुन सक्छ । गाउँ र टोलको नाम र सम्बन्धित व्यक्तिको मात्र होइन, उसका आफन्तको फोन नम्बरसहित रेकर्ड राख्नुपर्छ ।

यस्तै, संकलन गरिएका तथ्याकंहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बनाइदिएको सफ्टवेयरमा भर्न सिकायौँ । त्यो सफ्टवेयरमा डाटा अपडेट गर्दा ठाउँको अवस्था र त्यहाँ खतरा छ-छैन भनेर रेकर्ड राख्ने गरिन्छ । कोरोनाको बेला मात्र होइन, अरू सरुवा रोगका बेलामा पनि काम लाग्ने किसिमको डाटा हुनेछ ।

यस्तै, बाहिरका मानिस जान नमिल्ने गरी भुल्केलाई सिल गर्‍यौँ । यो क्षेत्रमा मुस्लिम बाहुल्यता रहेछ । हामीले सामाजिक दुरी कायम गर्दै टोलका प्रत्येक मानिसलाई भेट्यौँ, डब्ल्यूएचओले बनाएको प्रोटोकलअनुसार मानिसहरूलाई सोधीखोजी गर्‍यौँ । त्यही दिन हेल्थ क्याम्प चलायौँ । हामीले यसो गर्दा स्थानीयमा मनोवैज्ञानिक डर कम भयो । समस्या बताउँदा र बोल्दा सहज हुनेरहेछ भनेर उनीहरूले पनि बुझे । सामाजिक बहिस्कारको डरले भाग्ने र लुक्ने क्रम पनि रोकियो ।

हामी पुग्नु अगाडिको अवस्था फरक थियो । स्थानीयलाई बाहिर निस्कनसमेत दिइएको थिएन । त्यो टोलमा अरु मानिस नछिर्ने, त्यहाँका मान्छेले छोएको पैसासमेत चलाउने छाडिसकेका रहेछन् । मानिसहरू धेरै अत्तालिएका रहेछन् । कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा के गर्ने भन्ने सही जानकारी नहुँदा पनि यस्तो भएको होला ।

जमाती टोलीले कोरोना सार्‍यो भन्ने हल्ला चलेको रहेछ । यसले पनि समुदायमा त्राससँगै द्वन्द्व बढाएको रहेछ । तर, हामीले कन्ट्याक ट्रेसिङ गर्दै जाँदा त्यस्तो पाएनौँ अर्थात् मानिसहरूको धारणाभन्दा उल्टो निष्कर्ष निस्कियो ।

सुरुमा जमातीमा संक्रमण देखिएकाले उनीहरूलाई कहाँबाट संक्रमण सर्‍यो भन्ने खोजी गरेका थियौँ । त्यसका लागि बिरामीको ट्राभल र क्लिनिकल हिस्ट्री खोजी गर्ने क्रममा भारतको लखनउस्थित एक मदरसामा पढ्ने विद्यार्थी लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि आएको थाहा पायौँ । परीक्षणका क्रममा उनी मात्र होइन, परिवारमा अरू चार जनालाई पनि संक्रमण भएको रहेछ । उनी मस्जिदमा बस्ने जमातीहरूसँग आउजाउ गर्ने गर्दा रहेछन् ।

त्यसैले हाम्रो निष्कर्ष छ- भुल्केमा जमातीहरूबाट होइन, जमातीलाई कोरोना सारिएको रहेछ । यसमा हामीले बिर्सन नहुने के हो भने कोरोना भाइरस कसैले पनि जानीबुझी सार्दैन । लखनउबाट आएका विद्यार्थीले आफू संक्रमित भएको थाहा नै पाएनन्, परीक्षण पनि भएन र अरूमा पनि संक्रमण फैलिन पुग्यो ।

अब हामीले भुल्केका स्थानीयहरूमा १४ दिनपछि फेरि परीक्षण गर्छौँ, जसले कोरोना अरूमा सरे नसरेको थाहा हुन्छ । तर, अहिल पनि त्यहाँको अवस्था गम्भीर नै छ । मानिसहरूमा त्रास कायमै छ । हामीले पनि काउन्सिलिङ गरेका छौँ र स्थानीय स्वास्थ्यकर्मीहरूलाई निरन्तर काउन्सिलिङ गर्न भनेका छौँ र भुल्केमा मानिसहरूमा रहेको त्रास बिस्तारै कम हुँदै जान्छ भन्ने हाम्रो विश्वास छ | अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *