माल्भिका सुब्बा भन्छिन्ः लकडाउन खुलेपछि घरमा खेती सुरू गर्छु

लकडाउन डायरी
माल्भिका सुब्बा लकडाउन सुरू भएदेखि होइन, त्योभन्दा एक साता अगाडिदेखि घरबाट निस्किएकी छैनन्। लामो समयदेखि घरै बसिरहँदा उनको दिनचर्या त फेरिएकै छ, त्यो दिनचर्याको उनलाई आदतसमेत परिसकेको छ।

यसो भन्दैमा, लकडाउनअघि उनी जे गर्थिन्, त्यसबाट पूरै हात झिकिसकिन् भन्ने होइन। उनी पुराना सबै काम घरै बसेर सम्हालिरहेकी छन्। तर, पहिले कामको व्यस्तताबीच परिवार र साथीभाइसँगको आत्मीय क्षण छुटेको थियो, हिजोआज लकडाउनले त्यसलाई पनि जोडिदिएको छ।

‘परिवार र साथीभाइसँग धेरै समय बिताउन पाएकी छु। व्यस्तता भने पहिलेभन्दा खासै फरक छैन,’ लकडाउन अनुभव सुनाउँदै पूर्व मिस नेपाल माल्भिकाले सेतोपाटीसँग टेलिफोन वार्तामा भनिन्, ‘लकडाउनले परिवारसँग थप नजिक बनाएको महशुस हुँदैछ।’

अहिले पनि माल्भिकाको दिन पहिलेजसरी नै सुरू हुन्छ। उनी बिहान उठ्नेबित्तिकै योग गर्छिन्। त्यसपछि चार वर्षे छोरा रियोलाई खाजा र खाना तयार पार्छिन्। दिउँसो घरबाटै आफ्नो नियमित काम सम्हाल्छिन्। बीच-बीचमा परिवार र साथीभाइसँग गफगाफ पनि चल्छ,

‘परिवारसँग यति लामो समय बिताएको सायद पहिलोपटक हो,’ उनी भन्छिन्, ‘अरू बेला सबै जना काममा व्यस्त हुने भएकाले फुर्सदिलो भएर बस्ने मौका पाइन्थेन। लकडाउनले सबैलाई फुर्सद छ, लामो समयदेखि कुराकानी हुन नपाएका साथीभाइसँग भिडिओ च्याटबाट नजिकिएकी छु।’

श्रीमान र छोरासँग माल्भिका सुब्बा। तस्बिर स्रोतः माल्भिका सुब्बा
सुरूका दिन उनलाई निकै गाह्रो भएको थियो। के गर्ने, कसरी बस्ने भनेर छटपटी बढेको उनले महशुस गरेकी थिइन्। त्यसपछि सामाजिक सञ्जाललाई आफ्नो माध्यम बनाइन्।

उनले ‘इन्स्टाग्राम’ मा लाइभ सेसन सुरू गरेकी छन्। साँझ चारदेखि छ बजेसम्म उनी पूर्व मिस नेपाल, ‘एलइजिबिटी’ समुदाय लगायतसँग कुराकानी गर्छिन्।

‘काम गरिरहने मान्छेलाई एक्कासि थन्केर बस्दा बेचैनी हुँदो रहेछ। केही नगरी बस्दा पछि शिथिल भइने हो कि भन्ने डर पनि हुँदो रहेछ। कार्यक्रम सञ्चालक भएकाले कुनै काममा संलग्न भइरहनुपर्छ भन्ने लागेर इन्स्टाग्राममा लाइभ सेसन सुरू गरेँ,’ उनले भनिन्।

यही क्रममा सामाजिक सञ्जाल राम्रोसित चलाउन सिकेको उनी बताउँछिन्। इन्स्टाग्राम पोष्ट हेर्ने हो भने उनी त्यसमा निकै सक्रिय देखिन्छिन्। त्यसमध्ये पनि उनले हालै सेयर गरेको आलुदम बनाएको भिडिओ धेरैले मन पराए।

उनले हाँस्दै भनिन्, ‘युट्युबमा खानेकुरा पकाउने विधिको भिडिओ देखिरहन्थेँ। त्यही शैलीमा बोलेर बनाउन खोजेकी थिएँ। त्यो भिडिओ सबैले मन पराइदिनुभयो। विदेशबाट पनि साथीहरूले फोन गरेर त्यसकै कुरा गर्दा लाज पो लागेको छ।’

लकडाउनमा उनको सबभन्दा ठूलो उपलब्धि चाहिँ छोरासँग बिताउन पाएको समय नै हो। त्यसो त उनी पहिले पनि छोराको निम्ति समय निकाल्थिन्। तर, अहिले अझ बढी समय दिन पाएको र छोराको हरेक गतिविधि नजिकबाट हेर्न पाएकोमा उनी दंग छिन्।

‘छोरासँग चोर-पुलिस खेलेर बसेकी छु। उसको काल्पनिक संसारमा पुगेर रमाउने गरेकी छु,’ उनी भन्छिन्, ‘अहिले चार वर्षको भए पनि बाहिर जानु हुँदैन भन्ने सोच उसमा छ। कुनै कुराको लागि जिद्दि पनि गर्दैन। गीत गाउन रुचाउँछ। त्यसैले पुराना नेपाली गीत सिकाउँछु, ऊ त्यही गुन्गुनाउँदै बस्छ।’

लामो समय श्रीमान-श्रीमती दिनरात सँगै बस्दाको कुरा गर्दै जाँदा पोर्चुगलको एउटा सन्दर्भ निस्कियो, जहाँ क्वारेन्टाइनमा रहेकी एक महिलाले आफ्नो श्रीमानको बानीबाट हैरान भएको बताएकी थिइन्।

माल्भिकाले यसलाई ठट्टयौली पारामा भनिन्, ‘पहिलो हप्ता रमाइलो हुन्छ। दोस्रो हप्ता खटपट अनि तेस्रो हप्ता ढाड फर्काएर बस्ने।’

फेरि हाँस्दै भनिन्, ‘सबैको फरक व्यक्तित्व हुन्छ। यस्तो बेला खटपट त भइहाल्छ। आफ्नो परिवारलाई समय दिनुपर्छ, सँगसँगै आफूलाई पनि छुट्टै समय दिन जरूरी छ। कोही पनि व्यक्ति सधैं अरूसँग घुलमिल भएर बसिरहन सक्दैन।’

छोरासँग माल्भिका सुब्बा। तस्बिरः माल्भिकाको फेसबुक
लकडाउनले न्यूनतम स्तरको जीवनशैली जिउने कला पनि सिकाएको उनको अनुभव छ। मानिसले खाने अन्नसमेत नपाएको यस्तो बेला हरेक व्यक्तिले आफूलाई चाहिनेभन्दा बढ्ता सामान नकिन्ने र पुराना सामान फेरि प्रयोगमा ल्याउनुपर्ने उनी बताउँछिन्।

लकडाउन सकिएको पहिलो दिन के गर्ने विचार छ त?

हाम्रो यो प्रश्नमा माल्भिकाले भनिन्, ‘घरमा सानोतिनो खेती गर्ने विचार छ।’

यति मात्र होइन, लकडाउनपछि डिजिटल संसारको सकारात्मक सुरूआत हुनसक्ने सम्भावना पनि उनले देखेकी छन्। वातावरण प्रदूषण, ट्राफिक जाम लगायत समस्याबाट पार पाउन मान्छे पहिलेभन्दा सचेत होलान् कि भन्ने आश पनि लिएकी छन्।

उनले भनिन्, ‘अब हाम्रो जीवन पहिलेजस्तो सामान्य हुँदैन। मानिस एकअर्कासँग कम सम्पर्कमा आउलान्। मनमा बसेको डरले शारीरिक दुरी बढाउला, तर सामाजिक निकटताको विकल्प त छ नि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *