एकैदिन १७ जना संक्रमित भेटिएपछि वीरगञ्जका केही क्षेत्र सिल

वीरगञ्जको छपकैयामा एकैदिन १७ जनामा कोरोना भाइरस संक्रमित भेटिएपछि थप वीरगञ्जका अन्य केही क्षेत्रमा सिल गरिएको छ । स्थानीय प्रशासनले कोरोना संक्रमित व्यक्तिहरु भेटिएका आसपासका क्षेत्रलाई सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितको बैठकले वीरगञ्ज महानगरपालिका – ३ छपकैयाको पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार क्षेत्र सिल गरेको हो ।

त्यस्तै उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चौक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वडा नम्बर १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नम्बर १, २ र ३ का इलाकाहरु समेटिने गरी सिलबन्दी गरिएको छ । सो क्षेत्रमा औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले छपकैयामा भेटिएका १७ जनाको कन्ट्याक ट्रेसिङको कामलाई पनि तिब्रता दिएको छ । यस्तै महानगरको पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा बिहान ५ बजेदेखि साँझ साढे ७ बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयको पासको प्रयोग गरी सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *