कोरोना अपडेट : थप नौ जनामा कोभिड-१९ पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या २७६

काठमाण्डौ ,०३ जेष्ठ ।
नेपालमा थप नौ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको शनिवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अब कुल सङ्क्रमितको सङ्ख्या २७६ पुगेको छ।

मन्त्रालयका अनुसार कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक-एक जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा प्रकाशित विज्ञप्तिका अनुसार भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिकाका तीन पुरुषमा कोरोनाभाइरस पुष्टि भएको हो।

यसअघि पर्सा, सिराहा, सर्लाही, चितवन र बर्दियाका मानिसबाट सङ्कलित नमुनाको काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको थियो।

शुक्रवार १८ जना सङ्क्रमित फेला परेका थिए।

कहाँ कति सङ्क्रमित छन्?

 

अहिलेसम्म प्रदेश नं ५ मा १०९ र प्रदेश नं २ मा १०७ र सङ्क्रमित फेला परेका छन्।

प्रदेश नं ५ मा सङ्क्रमण पुष्टि भएका सबै जना अहिले आइसोलेशनमा छन् भने प्रदेश नं २ मा केही व्यक्ति निको भएर अस्पतालबाट फर्किएका छन्।

शुक्रवारसम्म कोभिड-१९ पुष्टि भएकामध्ये ३६ निको भएका छन्।

सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ३६ जनामा, वाग्मती प्रदेशका १६, गण्डकी प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका पाँच जना छन्।

नेपालका छमध्ये कर्णालीबाहेक सबै प्रदेशमा कोभिड-१९ भेटिएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रवार अपराह्णसम्म १५,८६३ व्यक्ति देशका विभिन्न स्थानमा क्वारन्टीन रहेका छन्।

तीमध्ये प्रदेश नं ५ मा सबैभन्दा धेरै ८,३२५ जना र वाग्मती प्रदेशमा सबैभन्दा कम ११७ जना छन्।

मन्त्रालयले शुक्रवार दिउँसो ३:२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यति बेलासम्म पीसीआर विधिवाट जम्मा २३,९१४ वटा र आरडीटी विधिबाट ६३,०८५ वटा परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *