कोरोना भाइरस: युभाल नोआ हरारी भन्छन्, ‘यो स्वास्थ्य सङ्कटभन्दा बढी राजनीतिक सङ्कट हो’

इजरेली इतिहासकार तथा ‘सेपीअन्ज: अ ब्रिफ हिस्टरी अफ म्यानकाइन्ड’का लेखक युभाल नोआ हरारीले कोभिड-१९ सँग सङ्घर्ष गर्न देशहरूले गरेको छनोटले भविष्यमा विश्वलाई रूपान्तरित गर्ने बताएका छन्।

यो महामारीबाट कस्तो समाज बन्छ? के देशहरू थप एकताबद्ध वा थप एक्लिएर अगाडि बढ्छन्? प्रहरी वा निगरानी गर्ने संयन्त्रहरू नागरिकको रक्षा गर्न प्रयोग होलान् कि वा दमन गर्न?

बीबीसीको न्यूजआवर कार्यक्रमलाई दिएको अन्तर्वार्तामा हरारीले भने, “यो सङ्कटले हामीलाई केही ठूला निर्णयहरू गर्न र ती तत्कालै गर्न बाध्य बनाइरहेको छ। तर हामीसँग विकल्पहरू पनि छन्।”

‘राजनीतिक’ सङ्कट

उनले भने, “सम्भवत: हाम्रा दुई विकल्पमा पहिलो यो सङ्कटलाई एकल राष्ट्रियतावादमा आधारित रहेर सामना गर्ने वा अन्तर्राष्ट्रिय सहकार्य तथा ऐक्यबद्धताका आधारमा सामना गर्ने भन्ने हो।”

“दोस्रो, प्रत्येक देशको तहमा, चुनौतीबाट पार पाउन हामीले अधिनायकवाद, केन्द्रीय नियन्त्रण, निगरानी वा सामाजिक ऐक्यबद्धता र नागरिकको सशक्तीकरणबाट प्रयास गर्ने हो।”

 

 

हरारीले कोरोनाभाइरस महामारीले वैज्ञानिक तथा राजनीतिक दुवै किसिमका प्रश्नहरू खडा गरेको बताए।

तर केही वैज्ञानिक चुनौतीहरू सामना गरिएको भएपनि हामीले राजनीतिक चुनौतीका बारेमा खासै ध्यान नदिएको उनको भनाइ छ।

हरारीका विचारमा मानवजातिसँग कोरोनाभाइरसलाई नियन्त्रण तथा पराजित गर्न आवश्यक सबै थोक छ।

“यो मध्ययुग होइन। यो के कारणले मानिसहरूको मृत्यु भइरहेको छ र अब के गर्ने भन्ने जानकारी हामीलाई नभएको अवस्था होइन।”

चिनियाँ वैज्ञानिकहरूले पछिल्लो महामारी सार्स-सीओभी-२ नामक भाइरसका कारण लागेको भन्दै त्यसको आनुवंशिक अध्ययन पनि गरेका छन्। कैयौँ अरू देशहरूले पनि त्यस्तै खालका अनुसन्धानहरू गराइरहेका छन्।

कोभिड-१९ को कुनै उपचार नरहे पनि अनुसन्धानकर्ताहरूले सबैभन्दा नयाँ स्वास्थ्यप्रविधि र आविष्कारहरूको प्रयोग गरी जारी राखिएको र खोपको परीक्षणमा पनि प्रगति भइरहेको उल्लेख गरेका छन्।

अनि हामीलाई हात धुने र सामाजिक दूरी कायम गर्ने जस्ता उपाय प्रयोग गरी भाइरसबाट जोगिन सकिने र त्यसलाई फैलिनबाट रोक्न सकिने भन्ने थाहा छ।

हरारी भन्छन्, “हामीलाई पूर्ण रूपमा थाहा छ कि हामी के सँग लडिरहेका छौँ। हामीसँग यसलाई पराजित गर्ने आर्थिक सामर्थ्य छ।”

“अहिलेको प्रश्न हामीले यी शक्तिहरूको प्रयोग कसरी गर्ने भन्ने हो? र यो मूलत: राजनीतिक प्रश्न हो।”

खतरनाक प्रविधि

हरारीले हालै फाइन्यान्शल टाइम्स पत्रिकामा प्रकाशित लेखमा सङ्कटको समयमा ऐतिहासिक प्रक्रियाहरू मिचिने र वर्षौँ लाग्ने निर्णयहरू रातारात गरिने चेतावनी दिएका थिए।

तीव्र गतिमा विकास भइरहेका निगरानीसम्बन्धी प्रविधिहरू पूर्ण विकास नभई वा सार्वजनिक वृत्तमा बहस नै नगराई हतारमा प्रयोगमा ल्याइन सकिने उनको धारणा छ।

गलत हातमा पुगेको अवस्थामा सरकारले ठूलो निगरानी गरी सत्ता स्थापित गर्न, सबै नागरिकका तथ्याङ्क सङ्कलन गर्न र अपारदर्शी निर्णय गर्न प्रयोग गर्न सक्ने हरारी बताउँछन्।

उदाहरणका लागि इजरेलमा सरकारले व्यक्तिको अवस्थिति र ठेगाना पत्ता लगाउन स्वास्थ्य अधिकारीहरूको मात्रै नभई जासुसी निकायहरूको अधिकार पनि बढाएको छ। दक्षिण कोरियामा यस्तै विधि परीक्षण गरिँदा त्यहाँ पारदर्शिता अपनाइएको हरारी बताउँछन्।

संसारकै सबैभन्दा अत्याधुनिक निगरानी प्रणाली अपनाएको चीनले क्वारन्टीनबाट भाग्ने मानिसहरूलाई जरिबाना गराउन अनुहार पहिचान गर्ने प्रविधिको प्रयोग गरिरहेको छ।

अहिले तत्कालका लागि यसो गर्नु औचित्यपूर्ण देखिए पनि दीर्घकालसम्म यस्तै रहिरहने जोखिम रहेको उनी बताउँछन्।

हरारीले आफू सरकारहरूले लिने बलियो र अग्रगामी कदमको पक्षमा रहेपनि सम्पूर्ण जनताको प्रतिनिधित्व गर्नसक्ने सरकारले मात्रै त्यस्तो कदम चाल्नुपर्ने धारणा राखे।

उनी भन्छन्, “साधारण अवस्थामा तपाईँ देशको ५१ प्रतिशत जनसङ्ख्याको समर्थन लिएर सरकार सञ्चालन गर्न सक्नुहुन्छ। तर यस्तो समयमा तपाईँले वास्तविक अर्थमा समावेशी हुनुपर्छ र सबैलाई ध्यान दिनुपर्छ।”

एकलवादविरुद्ध सहकार्य

हरारीका अनुसार हालैका वर्षमा राष्ट्रवाद र लोकप्रियतावादको सहारा लिएर सत्तामा पुगेका सरकारले समाजलाई दुई परस्परविरोधी कित्तामा उभ्याइदिएका छन् एवम् उनीहरूले विदेशी र विदेशी मुलुकविरुद्ध घृणा बढाइदिएका छन्।

तर विश्वव्यापी रूपमा देखिएको स्वास्थ्य महामारीले सामाजिक समूह वा देशलाई विभेद नगर्ने देखाएको छ।

हरारी भन्छन् यस्तो अप्ठेरोको बेलामा हामीले सहकार्य वा विभाजन केको बाटो समाउने निर्णय गर्नुपर्ने हुन्छ।

कैयौँ देशहरूले समस्यासँग आफैँ सङ्घर्ष गर्ने प्रयास गरिरहेका छन् एवम् निजी क्षेत्रको स्वास्थ्य पूर्वाधार र आपूर्तिबारे बारम्बार प्रश्न उठाइरहेका छन्। अरू देशहरूले मास्क, रसायन र भेन्टिलेटर जुटाउन गरिरहेको प्रयासमा बाधा पुर्‍याउन खोजेको आरोप अमेरिकामाथि लागेको थियो।

धनी देशका प्रयोगशालामा बन्ने खोपहरू पर्याप्त सङ्ख्यामा विकासशील वा गरिब देशमा पुग्न नसक्ने डर पनि व्यक्त भइरहेका छन्।

अनि सहकार्यले दिने सम्भावनाको चर्चा गर्दै हरारी औल्याँउछन्, “चीनका वैज्ञानिकहरूले बिहान सिकेका पाठले साँझ तेहरानमा ज्यान जोगाउन सकिन्छ।”

हरारी भन्छन् अहिले जेजस्तो छनोट गरेपनि हामी निरन्तर सामाजिक प्राणी रहिरहनेछौँ र त्यो परिवर्तन हुनेछैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *