भारतबाट फर्किएका नेपाली चढेको गाडी ट्रकसँग जुध्दा १२ जनाको मृत्यु

बाँके जिल्लामा महेन्द्र राजमार्गको ठुरिया जङ्गलमा आइतवार मध्यरातपछि भएको एउटा दुर्घटनामा १२ जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ।

बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार ३३ जना सवार एउटा गाडी राजमार्गमा रोकिएको ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो।

उनले भने, “एघार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो।”

दुर्घटनामा घाइते भएका २० जनाभन्दा बढीको भेरी अस्पतालमा उपचार हुँदैछ।

गाडीमा को थिए?

गाडीमा नेपालगन्ज नाकाबाट भारतका विभिन्न ठाउँबाट आएका मानिसहरू चढेको प्रहरीको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनीहरूलाई आइतवार राति रूपैडिया सीमाबाट उद्धार गरेर घरतर्फ पठाइएको थियो।

चालकसहित ३३ जना भएको उक्त गाडी सल्यानतिर जाँदै गरेको बुझिएको छ।

मृतकहरूको परिचय खुलेको छैन। तर १२ जनामध्ये एक महिला छिन्।

प्रहरीले सनाखत गर्न काम थालिएको बताएको छ।

भेरी अस्पतालले केही घाइतेको अवस्था गम्भीर भएको बताएको छ।

बीबीसीकी नेपालगन्ज संवाददाता विमला चौधरीका अनुसार भारततर्फ समेत क्वारन्टीनको गुणस्तरमा समस्या देखिएको गुनासो आउन थालेपछि भारतबाट आएका नेपालीहरूलाई सीमाबाटै उद्धार गरेर उनीहरूको गृहजिल्ला वा स्थानीय निकायमा पठाउने क्रम बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *