कोभिड-१९ महामारीका कारण भारतको धनी सहर मुम्बई तहसनहस ………..

मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु।

सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू सक्रिय थिए, सहरको अन्य भागमा रेल कुदिरहेको थियो, लाखौँ मानिसहरू काममा गएका थिए एवम् भोजनालय र कार्यालयहरू खुलेका थिए।

तर कोभिड-१९ का कारण लागु कडा लकडाउनले यो सहरलाई भूताहा सहर बनाएको छ।

यसले यहाँको स्वास्थ्य पूर्वाधारहरू पनि ढल्ने अवस्थामा पुर्‍याएको छ।

“हिजो राति छ घण्टाभित्र मैले कोभिडसम्बन्धी कारणले १५ देखि १८ जना मरेको देखेँ। यसअघि कहिल्यै एउटै शिफ्टमा त्यति धेरै मान्छे मरेको देखेको थिइनँ,” कोरोनाभाइरस सङ्क्रमितको उपचार गरिरहेका थुप्रै सरकारी अस्पतालमध्ये एक केईएम अस्पतालका एक चिकित्सकले मलाई बताए।

उनले कारबाही हुने डरले नाम भने बताउन चाहेनन्।

“यो युद्धमैदान हो। त्यहाँ प्रत्येक शय्यामा दुई-तीनजना बिरामी छन्, केही भुइँमा छन्, केही बाटोमा छन्। हामीसँग पर्याप्त अक्सिजन दिने टुटी छैन। त्यसैले केहीलाई आवश्यक भए पनि अक्सिजन दिन सकिएको छैन।”

सायन अस्पतालका एक चिकित्सकले एउटा अक्सिजन ट्याङ्क दुईदेखि तीन जनाका लागि प्रयोग गरिरहेको बताए। थप बिरामी राख्न शय्याबीचको दूरी घटाइएको उनले बताए। व्यक्तिगत सुरक्षा परिधान अर्थात् पीपीई लगाउने र फुकाल्ने ठाउँमा समेत यथेष्ट सुरक्षा व्यवस्था नभएको बताए।

मुम्बईको गर्मी र आद्रतामा चिकित्सकहरू पीपीई लगाएको केही मिनेटमै असिनपसिन हुन्छन्।

सायन र केईएम अस्पतालका भनिएका भिडिओहरूमा बिरामीहरूलाई शवसँगै सुताएर उपचार गरिरहेको र भिड देखिन्छ। यी भिडिओले सामाजिक सञ्जालमा मानिसहरूलाई आक्रोशित बनाएको छ।

“मुम्बईमा उच्चस्तरको स्वास्थ्य सुविधा र चिकित्सकहरू छन् तर यो महामारीको लागि तैयार थिएन,” जनस्वास्थ्य विज्ञ डा. स्वाति राणेले भनिन्। “सपनाको सहर अहिले डरलाग्दो सपनाको सहर बनेको छ।”

साना टापुहरूलाई जोडेर बनाइएको भारतको आर्थिक गतिविधिको मुख्य सहरमा भारतभरिबाट काम र अवसरको खोजीमा लाखौँ मानिसहरू आएका छन्।

भाइरसविरुद्धको सङ्घर्ष गाह्रो हुने एउटा प्रमुख कारण यहाँको जनघनत्व पनि हो जुन विश्वकै दोस्रो ठूलो हो।

“भिडिओमा देखाइएको अवस्था यहाँ कैयौँ वर्षदेखि छ,” एक चिकित्सकले भने। “दुर्भाग्यवश यहाँको स्वास्थ्यसेवा सुविधा धराशायी हुने अवस्थामा छ भनेर मानिसहरूलाई थाहा हुन महामारी आउनुपर्‍यो।”

सरकारी तथ्याङ्कअनुसार मुम्बईमा ७० सार्वजनिक अस्पताल छन्। तिनमा २०,७०० वटा शय्या तथा १,५०० निजी केन्द्रमा २०,००० वटा शय्या छन्। त्यहाँको प्रति ३,००० जनसङ्ख्याका लागि एउटा शय्या छ जुन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको प्रति ५५० व्यक्तिका लागि एउटा शय्याको अनुपातभन्दा निकै कम हो।

भारत सरकारको १० वर्ष पुरानो तथ्याङ्क हो र त्यसयता मुम्बईको जनसङ्ख्या ह्वात्तै बढेको छ तर स्वास्थ्य सुविधाले त्यस्तै फड्को मार्न सकेको छैन।

सरकारी सेवामा रहेका चिकित्सकहरूलाई कोभिड-१९ को महामारीले झन् गाह्रो बनाएको छ किनभने उनीहरूमाथि लामो समयदेखि अनावश्यक बोझ थियो।

“यो सबै बोझ सार्वजनिक क्षेत्रमा परेको छ किनभने निजी क्षेत्र खासै यसमा संलग्न छैनन्। निजी क्षेत्रमा केही शय्या मात्रै कोभिड-१९ का लागि प्रयोग भएका छन्,” डा. राणेले भनिन्।

केही साताअघि मुम्बई राजधानी रहेको महाराष्ट्र राज्यको सरकारले निजी अस्पतालले सरकारले तोकेको दरमा कोभिड-१९ को उपचार गर्न ८० प्रतिशत शय्या छुट्टाउनुपर्ने बताएको थियो।

“सङ्क्रमणको प्रकृतिका कारण सुरुमा केही संशय थियो,” धेरै चिकित्सकहरूको प्रतिनिधित्व गर्ने भारतीय मेडिकल सङ्गठनका प्रान्तीय प्रमुख डा. अविनाश भोन्डवेले भने। “तर अहिले करिब ३,००० स्वतन्त्र चिकित्सकहरूले सहयोग गर्न दर्ता गरेका छन्। तर हामीलाई स्तरीय उत्पादनकर्ताले उत्पादन गरेको पीपीई सुपथ मूल्यमा चाहिन्छ जुन अहिलेसम्म दिइएको छैन।”

तर यी चिकित्सकहरूलाई अझै काममा लगाइएको छैन र सरकारी अस्पतालहरूमा अवस्था अझै त्यस्तै छ।

“सहयोगको आपत्कालीन आवश्यकता छ। हामी बिदा नलिई काम गरिरहेका छौँ र हामीसँग क्वारन्टीनमा बस्ने समय पनि छैन,” सायन अस्पतालका एक चिकित्सकले भने।

चार हजार जनासम्मलाई उपचार गर्नेगरी सहरका विभिन्न भागमा अस्थायी अस्पतालहरू बनाउन थालिएको छ र कुन अस्पतालमा शय्या खाली छ भनेर जानकारी दिन एकीकृत सूचना प्रणाली पनि बनाइँदैछ।

तर यो सबै केही परिवारका लागि निकै ढिलो आएको छ।

नित्यगणेश पिल्लाई भन्छन् उनको पितालाई सास फेर्न कठिन हुँदा आठवटाभन्दा बढी निजी अस्पतालले उपचार गर्न मानेनन्। अन्तिममा उनले पितालाई सायन अस्पताल लगे।

“त्यहाँ एउटा रगताम्मे स्ट्रेचर मात्रै थियो। मैले एउटा ह्वीलचेअर खोजेर बुवालाई भित्र लगेँ,” उनी भन्छन्। “मलाई बुवालाई सघन उपचार चाहिने बताइयो तर त्यहाँ शय्या थिएन। जब चिकित्सकले उनलाई जाँच्न भ्याए, बुबाको अन्तिम अवस्था भइसकेको थियो।”

केही घण्टामै ६२ वर्षीय सेल्भाराज पिल्लाईको मृत्यु भयो। उनको मृत्युपछि आएको परीक्षण प्रतिवेदनमा उनलाई कोभिड-१९ भएको देखियो।

नित्यगणेश र उनकी आमालाई क्वारन्टीनमा राखियो।

“प्रत्येक दिन म कोरोनाभाइरसबारे समाचार हेर्थेँ। मलाई कहिल्यै यसले मलाई वा मेरो परिवारलाई असर गर्छ जस्तो लागेन। हामी उच्च मध्यमवर्गीय परिवार हौँ। तपाईँसँग धन होला तर त्यसले तपाईँका प्रियजनको ज्यान जोगाउँदैन।”

अनि धारावी जस्तो बाक्लो बस्ती भएको ठाउँमा त जीवन झन् कठिन छ। त्यहाँ एक वर्गमाइलमा स्थानमा झन्डै १० लाख मानिस बस्छन् जुन अमेरिको न्यूयोर्कको म्यान्ह्याटनभन्दा १० गुणा बढी हो।

“पचास जनाले एउटै शौचालय प्रयोग गर्छन्। एउटा सानो कोठामा १०-१२ जना सुत्छन्, खान्छन् र बस्छन्। त्यहाँ कसरी सामाजिक दूरी कायम हुन सक्छ?” धारावीका मोहम्मद रहमान भन्छन्।

रहमान लकडाउनका कारण धारावीमा रोजगार गुमाएका हजारौँ मानिसहरूलाई खाना बाँडिरहेको एउटा संस्थामा छन्।

“मैले कहिल्यै यति धेरै काम गरेको र यति धेरै थकित भइको महसुस गरेको थिइनँ। अब हामीसँग भएको पैसा सकिएको छ र खाना दिन बन्द गर्नुपर्नेछ। यसरी कति दिन धानिन्छ?”

लकडाउनका कारण भएको शून्यता सुन्दर छ। प्रत्येक दिन सफा नीलो आकाश देखिन्छ र सहरमा आउने चराहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

तर लकडाउनको आर्थिक यथार्थ डरलाग्दो छ।

आर्थिक घाटा करौडौँ अमेरिकी डलर बराबरको छ। अनि कोरोनाभाइरस सङ्क्रमण बढिरहेको कारण तत्काल यो समय अन्त्य हुने अवस्था छैन।

“हामी नयाँ अस्पताल बनाइरहन सक्छौँ। त्यो एक दिनमै भरिन्छ। हामीले भाइरस सङ्क्रमणको स्रोत पत्ता लगाएर त्यसलाई निमिट्यान्न नपारेसम्म यो सहर महिनौँसम्म लकडाउनमा राख्नुपर्छ.” सरकारी निकायसँग मिलेर जनघनत्व बढी भएको भागमा घरघर पुगेर ज्वरो परीक्षण गरिरहेको टोलीका सदस्य डा. राहुल घुले भन्छन्।

मुम्बई नगर निगमका आयुक्त इकबाल चहालका अनुसार भाइरसको सङ्क्रमण फैलिन रोक्न एउटा अभियान सुरु गरिएको छ।

“जनघनत्व बढी भएको क्षेत्रमा अहिले हामी प्रत्येक कोभिड-१९ को बिरामीको सम्पर्कमा आएका १५ जनासम्मलाई क्वारन्टीनमा राखिरहेका छौँ। हामीले अहिलेसम्म मुम्बईमा ४२ लाख जनालाई परीक्षण गरिसकेका छौँ।”

तर अर्को खतरा सँघारमै छ।

मनसुन चाँडै आउँदैछ र मनसुनसँगै औलो, टाइफाइड र अन्य सङ्क्रमणको जोखिम बढ्छ। तर वर्षाका बेला अन्य अत्यावश्यक सेवाहरू झन् असहज हुँदै जान्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *