पौष २ गते, विराटनगर – बालिका बन्धक बनाई बलात्कार गरेको आरोप लागेका एक किशोरलाई १९ बर्ष कैद सजायको फैसला भएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-४ मधवापुरका १८ वर्षीय किशोरले स्थानिय १५ बर्षिय बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपित किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको हो ।
आरोपितले ०७५ मङ्सिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुस ३ गते दिएको उजुरी अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई ०७५ पुस ४ गते पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६४६ जरिवाना तथा थप सजायतर्फ छ वर्ष आठ महिना कैद र ६६ हजार ६६६ जरिवाना तोकेको अदालतले जनाएको छ । आरोपितले पीडितलाई एकुमष्ठ ५० हजार क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसला भएको छ ।
कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ ।
Comments