पौष ५ गते,विराटनगर – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।
राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।
संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति पनि तय गरिएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको प्रश्ताव सिफारिस गरेको थियो । बैठकले संसद विघटनको सिफारिस गरेसँगै प्रधानमन्त्री ओली शितल निवास पुगेर राष्ट्रपति लाई भेटेर फर्किएका थिए। विभिन्न पार्टीका नेता तथा संघ संस्थाहरुले प्रभानमन्त्री ओलीको यस प्रस्तावलाई अनुमोदन नगर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । विघटनको प्रश्तावलाई लिएर विभिन्न क्षेत्रबाट भएको विरोधका बावजुद राष्ट्रपतिले संसद विघटन गरेकी हुन् ।
Comments