पौष १४ गते,विराटनगर – नेपाल प्रहरीलाई नै ठगि गर्न खोज्ने ठेकदार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि. वीरगञ्जका सञ्चालक पिताम्बरकुमार मुर्का रहेका छन् । उनको ठगीमा उनका काठमाडौं प्रतिनिधि घट्टेकुलो घर भएका नरेन्द्रनाथ पौडेलले पनि साथ दिएको खुल्न आएको छ ।
प्रहरी सिपाहीका २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएका मुर्काले प्रहरीलाई ठगेको भेटिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दिएको छ भने त्यसको आधारमा ब्युरोले दुवै जनालाई पक्राउ गरेको छ ।
कपडाको गुणस्तर परीक्षणका लागि ‘प्रहरी प्रधान कार्यालयको रोहवरमा साउन ३० गते नमुना परीक्षणका लागि एसजीएस चेन्नईमा पठाइएको थियो । तर, पछि मुर्काले डीएचएलमार्फत पुनः सोही ल्याबमा आफू खुसी दोस्रो नमुना पठाएर प्रहरी संगठनलाई जालसाजी गरेको पाइएको ब्युरोका निर्देशक सहकुलबहादुर थापाले जनाए ।
थापाका अनुसार नेपाल प्रहरीको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाइल नम्बर तथा इमेल समेत उल्लेख गरेर उनले अर्को नमुना पठाएका थिए । ‘उनले पठाएको नमुनाको रिपोर्ट पहिले प्रहरीलाई प्राप्त भएको थियो, जसमा सामान भनिएकै गुणस्तरको रहेको उल्लेख थियो’, उनले भने, ‘तर, केही दिनपछि पुनः दोस्रो पत्र आयो, जसमा सामान गुणस्तरहीन रहेको भनिएको थियो ।’ त्यसपछि अनुसन्धान गर्दै जाँदा ठेकदारको पोल खुल्न गएको हो ।
अहिले दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको छ ।
Comments