पौष १७ गते,विराटनगर – राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज अपराह्न ४ बजे बाट सुरु हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक बोलाएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो ।
आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउनुका साथै मन्त्रिपरिषद पुनर्गठनबारे जानकारी गराइने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जनाएका छन् ।
उनका अनुसार अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने सम्भावित कार्यसूची पनि छ ।
त्यसपछि अधिवेशन प्रारम्भ भएको अवसरमा संसदीय दलका नेताहरुले बोल्ने कार्यसूची राखिएको छ ।
अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पनि पेस हुने छन् ।
यसबीचमा संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश जारी भएका थिए ।
अन्तिममा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ ।
Comments