“कबड्डी” टिमको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणलाई तीन लाख सहयोग

‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले भरतपुरको चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणलाई असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ टिमले तीन लाख आर्थिक सहयोग गरेको छ । आइतबार सिताराम कट्टेललाई फिल्मका अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरणपछि अभिनेता दयाहाङ राईले क्रिकेट रंगशाला निर्माणका लागि सानो भए पनि फिल्मको तर्फबाट सहयोग गर्न पाउँदा खुसी महशुस भएको बताए । उनले देशको गौरवको आयोजना भएका कारण सबै नेपालीलाई आ(आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न पनि आग्रह गरे । अर्का अभिनेता विल्सनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्नु सबै नेपालीको दायित्व रहेको बताए ।

धुर्मुस सुन्तली फाउन्डेसन’ का अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले क्रिकेट रंगशाला निर्माणमा फिल्मकर्मीबाट मिलेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । उनले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न पनि आह्वान गरे । अहिले क्रिकेट रंगशालाको निर्माण कार्य धमाधम भइरहेको छ । सो रंगशाला दुई वर्ष भित्रमा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा सामाजिक कार्यमा पनि सक्रियता देखाएको ‘कबड्डी कबड्डी कबड्डी’ टिम अहिले प्रचार(प्रचारलाई तिव्रता दिन व्यस्त छ । मौलिक विषयवस्तुमा फिल्म बनाउन सिपालु मानिने रामबाबु गुरुङले यो फिल्मको निर्देशन गरेका हुन् । गीतसंगीत र ट्रेलरका कारण निकै चर्चामा रहेको यस फिल्मले सुस्ताएको नेपाली फिल्मको बजार केही हदसम्म भए पनि उठाउने अपेक्षा गरिएको छ ।

फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *