लुटपाटको प्रयास गर्ने गिरोहका थप एक जना पक्राउ

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराटचोकस्थित त्रिवेणी टोलको एउटा सुनचाँदी पसलमा दिनदहाडै लुटपाटको प्रयास गर्ने गिरोहका थप एक जना पक्राउ परेका छन् । अत्याधुनिक हतियार बोकेर लुटपाट मच्चाउने गिरोहमा आवद्ध सुनसरीको गाढी गाउँपालिका–५ का ३३ वर्षीय आशिष चौधरीलाई मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा खटिएको विशेष टोलीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेना सम्मिलित हतियारधारी समूहका सदस्य उनलाई सुनसरीको झुम्काबाट पक्राउ गरिएको हो ।

अत्याधुनिक एवं स्वचालित हतियारको प्रयोग गर्दै लुटपाट आतंक मच्चाउने समूहमा सात जना आवद्ध रहेको खुलेको श्रेष्ठले बताए । छ जना यसअघि नै पक्राउ परे पनि पहिचान खुल्न नसकेका चौधरी फरार थिए । हतियार चलाउने सबै खालका तालिम प्राप्त गरेको समूहले गत साउन १ गते दिनदहाडै खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गरेको जानकारी श्रेष्ठले दिए । उनका अनुसार यसअघि नै पक्राउ परेको समूहसँग सुरक्षाकर्मीको विशेष टोलीले मात्रै बोक्न पाउने एसएमजी र पेस्तोलसहितका हतियार एवं गोली बरामद भएको थियो ।

प्रहरीका अनुसार हतियारसहित दुई जनाले पसलभित्र छिरेर लुटपाटको प्रयास गरेको र पछिल्लो समय पक्राउ परेका चौधरी भने वरपरको अवस्था विचार गर्न बाहिरै बसेको खुलेको छ । त्यस क्रममा उनले कम्मरबाट पेस्तोल निकालेर घटनास्थलमा भेला भएका स्थानीयलाई ताक्ने एवं तर्साउने काम गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए ।

यही गिरोहमा रहेकामध्ये यसअघि संखुवासभाको सभापोखरी गाउँपालिका–४ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा डेरा गरी बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, संखुवासभाको बाह्रबिसे घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय चिरञ्जिवी राई, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुरको पैवादुम्मा गाउँपालिका–३ घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुको साथबाट एउटा एसएमजी, म्याग्जीन, ६२ राउण्ड गोली, दुईवटा पेस्तोल, पेस्तोलको दुई र थ्री नट थ्री राइफलको चार राउण्ड गोली तथा दुईवटा सञ्चार सेट बरामद भएको एसपी जीसीले बताए । उनका अनुसार को २ ह २७३६ नम्बरको अटो टेम्पो, प्रदेश १–०२–०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३ र को २१ प ६७०३ नम्बरका चारवटा मोटरसाइकल तथा विभिन्न आठवटा मोबाइल एवं १६ हजार एक सय रूपैयाँ नगद बरामद भएको छ ।
घटनामा प्रयोग गरिएको हतियार र गोली सुन्दरहरैँचा–५ स्थित नमुना सामुदायिक वनमा रहेको करमको रुखको टोड्काभित्र कार्टुन टेपले बाँधेर लुकाएको अवस्थामा बरामद भएको जीसीको भनाइ छ ।

घटनामा संलग्नमध्ये चन्द्रबहादुर नेपाली सेनाको शेरजंग गणमा कार्यरत पूर्वजवान हुन् । तीन वर्षअघि उनले खोटाङदेखि जागिरबाट राजीनामा दिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको हतियार ल्याउने, व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व उनैले गरेको एसपी जीसीको भनाइ छ । त्यस्तै डायमण्ड भनिने प्रमोद चौधरी माओवादीका पूर्वलडाकु रहेको खुलेको छ । व्यक्ति हत्यामा संलग्न उनी सुनसरीबाट चलाइएको कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरेर डेढ वर्षअघि मात्रै छुटेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पूर्वलडाकु प्रमोद पूर्वाञ्चल सातौँ ब्रिगेडमा आवद्ध थिए ।

२०५७ सालदेखि २०६३ सालसम्म उनले तत्कालीन विद्रोही माओवादीको लडाकु बनेर सक्रिय रूपमा काम गरेको प्रहरीको भनाइ छ । त्यस क्रममा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा २०६० सालमा उनलाई गर्धनमा गोली लागेको खुलेको छ । त्यतिबेला भारतको फारवेसगञ्जमा गएर उपचार गराएका थिए । प्रहरीका अनुसार प्रमोदको उपचारमा भएको पाँच लाख रूपैयाँ खर्च पार्टीले बेहोरेको पाइएको छ ।

चन्द्रबहादुर र प्रमोद सबै खाले हतियार चलाउनसक्ने तालिम प्राप्त व्यक्ति भएको प्रहरीले जनाएको छ । एसपी जीसीका अनुसार चन्द्रबहादुर एसएमजी र प्रमोद पेस्तोल बोकेर लुटपाटका लागि पसलभित्र छिरेका व्यक्तिहरु हुन् । विगतमा विभिन्न अपराधिक घटनामा संलग्न माओवादीका पूर्वलडाकु र पूर्वसेना एउटै समूहमा रहेर संगठित गिरोह खडा गर्दै अपराधिक गतिविधीमा संलग्न रहेको पुष्टि नेपाल प्रहरीले गरेको हो । पक्राउ परेका सबै जनाविरुद्ध प्रहरीले हातहतियार खरखजना, डाँका, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित चारवटा कसूरमा मुद्दा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *