मोरङ कांग्रेस उप–सभापतिमा कोइरालाको चर्चा

विराटनगर, १९ साउन । नेपाली कांग्रेस मोरङको उप–सभापतिमा नागेश कोइरालाको चर्चा सुरु भएको छ ।

निर्वाचित जिल्ला सचिवका रुपमा कार्यरत कोइराला सभापति र उपसभापति मध्ये एकमा आउनुपर्ने कार्यकर्ता माझबाटै आवाज उठ्न थालेपछि चर्चा सुरु भएको हो ।

गत अधिवेशनमा कोइराला लोकप्रिय मतका साथ सचिवमा निर्वाचित भएका थिए । पार्टीका सबै शीर्ष नेतासँग निकट सम्बन्ध बनाएका कोइराला पार्टीको कोषध्यक्षसमेत भइसकेका छन् ।

उनले तरुण दल मोरङको सभापति हुँदा युवालाई चलायमान बनाएका थिए । कोइरालाले तरुण दलमा युवालाई आकर्षित गरेकै कारण अन्य पार्टीबाट दर्जनौं युवा तरुण दलमा प्रवेश गरेका थिए ।

आशन्न जिल्ला अधिवेशनमा उप–सभापतिमा उम्मेदवारी दिने कोइरालाले बताए । ‘सचिव भइसकेको मान्छेको स्वभाविक रुपले कि त सभापतिमा कि त उपसभापतिमा दाबी रहन्छ’, कोइरालाले भने, ‘मेरो अहिलेका लागि उपसभापतिमा दाबी छ, हेर्दै जाऊँ सभापतिमा पनि हुनसक्छ ।’

अहिले आकांक्षा मात्रै राखेकाले नेता र कार्यकर्ताले सभापति र उप–सभापतिमा जुन पदमा भन्छन्, त्यसैमा जाने उनले प्रस्ट्याए । जीवनभर राजनीतिलाई सेवाका रुपमा लिने उनले उद्घोष गरे ।

‘नेपालमा राजनीतिलाई व्यवसायका रुपमा लिन थालिएको छ, त्यही भएर पनि राजनीतिप्रति आमनागरिकको नकारात्मक धारणा बन्दै गएको छ’, कोइरालाले भने, ‘राजनीतिलाई म सेवाका रुपमा स्थापित गर्छु ।’

रोटरी क्लब अफ विराटनगर मिट टाउन, राउण्ड टेवल विराटनगर–५ सहित विभिन्न सामाजिक संघसंस्था नेतृत्व गरिसकेका कोइराला पुराना र नयाँ पुस्तामाझ लोकप्रिय छन् । आफूले गुट र समूहको विश्वास नगर्ने बताउँदै उनले भने, ‘म कांग्रेस हुँ त्यसभन्दा अरु जान्दिन । अधिवेशनमा प्रतिस्पर्धा भए पनि अन्य समयमा कांग्रेस एकढिक्का हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’

सचिवमा रहँदा खेलेका भूमिकाका आधारमा कोइरालाको उपसभापतिको दाबी न्यायसंगत भएको कार्यकर्ताहरुको टिप्पणी छ । सह–सचिवका लागि तयारी गरिरहेका मोरङ कांग्रेसका तरुण विभाग प्रमुख सञ्जय मण्डल अग्रज र युवाले कोइरालालाई चाहेको बताए । ‘कुनै पनि समस्या परेर उहाँसमक्ष जाँदा कहिल्यै नाइँ भन्नुहुन्न’, उनले भने, ‘नेताले भनेकै कार्यकर्ताका पीरमर्का बुझ्ने हो । उहाँले बुझ्नुहुन्छ ।’

कार्यकर्तामाझ सहज रुपमा उपलब्ध हुने र भनेको ठाउँमा तत्कालै पुगेर कार्यकर्ताका समस्या समाधान गर्ने क्षमता कोइरालामा भएको अर्का युवा नहिम आलम बताउँछन् । ‘नागेश दाइजस्ता मान्छेलाई पार्टीले सर्वसम्मत बनाउनुपर्ने हो’, आलमले भने ।

कांग्रेसबाहेकका नेताहरूसँग पनि कोइरालाको समन्वयकारी भूमिका बलियो रहेको उनको कथन छ । कांग्रेस महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । तर, क्रियाशील विवादका कारण महाधिवेशन अझै अनिश्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *