तलब वृद्धिको माग गर्दै शैलजा आचार्य स्मृति पोलिटेक्‍निक कलेजमा कार्यरक्त प्रशिक्षक र कर्मचारीद्धारा गुठीमा धर्ना

विराटनगर –
शैलजा आचार्य स्मृति पोलिटेक्‍निक कलेजमा कार्यरक्त प्रशिक्षक र कर्मचारीले श्री कृष्णप्रसाद कोइराला सेवा गुठीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । विगत १० दिनदेखि सेवा र सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका प्रशिक्षक र कर्मचारीले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

श्री कृष्णप्रसाद कोईराला सेवा गुठी भवन र सिटिभिटीको संयुक्त साझेदारीमा सञ्चालित शैलजा अचार्य स्मृति पोली टेक्निकलमा कार्यरक्त प्रशिक्षक र कर्मचारीले नेपाल सरकारले तोकेको अनुसार तलब र सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

मोरङको जाहदा गाउँपालिका ४ स्थित शिशवनीमा सञ्चालित सो टेक्निकलमा कार्यरक्त ७० जना प्रशिक्षक र कर्मचारीले सरकारले तोकेअनुसार सेवासुविधा नपाएको भन्दै भदौ २० गते देखि आन्दोलित भएका हुन।

पटक पटक व्यवस्थापन समिति र प्रचार्यलाई सरकारले बढाएको तलब वृद्धि गर्न ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभए पछि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै कलेजको सम्पूर्ण प्रसाशनिक कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

१ वर्षको मात्र नियुक्त दिएर प्रत्येक वर्ष काम लगाउने गरेको र सरकारले तोकेको तलब र सुविधा नदिने भएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको नसिङ्ग प्रशिक्षक शशीकाला तिवारीले जानकारी दिइन्।

नेपाल सरकारले २०७३र७४मा कर्मचारीको तलब २५ प्रतिशत बढाएकोमा शैलजा अचार्य स्मृति पोली टेक्निकलमा कार्यरक्त प्रशिक्षक र कर्मचारीको तलबमा वृद्धि नगरी भत्तामा २० प्रतिशत दिने निर्णय गरेको थियो ।

चालु आर्थिक वर्षमा सरकारले तलबको वृद्धि गर्ने नीति सार्वजनिक गरे पनि सो पोलीटेक्निकलमा हालसम्म कार्यरक्त कर्मचारी र प्रशिक्षकलाई कुनै जानकारी नदिई गुपचुप राखेपछि आन्दोलित भएको कलेजका भाइस प्रिन्सिपल सुनिता राउतले जानकारी दिइन्।

कर्मचारी तथा प्रशिक्षकले सम्पूर्ण तलब सेवा सुविधा सरकारी नियमअनुसार दिनुपर्ने, नियमित पार्टटाइम प्रशिक्षकको सुविधामा महंगी भक्ता र लुगा भक्त दिनुपर्ने, गत वर्षदेखि अनिवार्य रुपमा गर्नुपर्ने भनिएको संचयकोशमा जम्मा हुनुपर्ने रकम वर्तमान सेवा सुविधाबाट नभई अगामी वृद्धि हुने तलबबाट हुनुपर्ने, जीवन विमा र दुघर्टना बिमाको सुविधा गर्नुपर्ने, ग्रेड वृद्धि पनि सरकारी नियमअनुसार तहअनुरुप कायमलगायतका माग अघि सारेको छ।

कर्मचारीले वृद्धि गरेको तलब र सेवा सुविधाको माग गर्ने थालेपछि हालसम्म चालु वर्षको नियुक्ति पत्र समेत दिएको छै‍न। तर सेवा गुठीले भने सरकारले निर्धारण गरेको तलब दिने गरेको बताउँदै आएको छ।

आन्दोलित कर्मचारी र सञ्चालक समितिबीच शुक्रबार छलफलका लागि बैठक बसेको थियो। तर बैठक निष्कर्षबिहीन भएको छ। सञ्चालक समितिले आम्दानी नएकाले तलब वृद्धि गर्न नसकिने तर ग्रेडलगायतका माग पूरा गर्ने बताएको नर्सिङ प्रशिक्षक शशीकाला तिवारीले जानकारी दिइन् । सञ्चालकले माग सुन्नै चाहेन, साना माग मात्र पूरा गर्ने भनेपछि थप आन्दोलनमा उत्रिएको उनले बताइन्।

श्रम तथा रोजगार कार्यालयको पत्राचार

श्रम तथा रोजगार कार्यालय विराटनगरले श्री कृष्णप्रसाद कोइराला तथा सीटीभीटीको साझेदारीमा संचालित शैलजा आचार्य स्मृति पोलिटेक्निक जाहदालाई पत्रचार गरेको छ । श्रम शोषण भएको सम्बन्धमा कार्यालयका वरिष्ट श्रम अधिकृत प्रेमप्रसाद संजेलले आएको उजुरीका अनुसार उजुरीकर्ता र सञ्चालकबीच स्थानीयस्तरमा नै छलफल गरेर समाधान गर्न पत्राचार गरेको छ ।

भदौ २६ गते गरेको पत्राचारमा स्थानीयस्तरमा समाधान नगरे उजुरीउपर मुद्दाको रुपमा सुनवाई गरी फैसला गरी बाध्यकारी कार्यान्वयन गर्ने आदेश जारी हुने उल्लेख गरिएको छ । पत्रमा तलब र सुविधा सरकारले तोकेअनुसार नदिएर घोर अन्याय गरेको लगायतका ९ बुँदे सुझाव कार्यावन्यन गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *