बाल दिवस मनाउन राजविराजमा भेला भएका बालबालिकाले नगरपालिकाका प्रमुख र उपप्रमुखलाई गरे पाँच रुपैयाँ सहयोग

राजविराज –
राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाले राजविराज नगरपालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन्। बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरूले बाल दिवस मनाउन व्यङयात्मक शैलीमा पाँच रुपैयाँ प्रदान गरेका हुन्।

जिल्ला बाल सञ्जाल, नगर स्तरीय बाल सञ्जाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालको नेतृत्वमा स्थानीय महादेव मन्दिरको प्रांगणबाट निकालिएको र्‍याली चर्को नाराबाजी गर्दै नगरपालिका पुगेर प्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झालाई ज्ञापनपत्रसहित पाँच रुपैयाँ दिएको जिल्ला बाल सञ्जालका अध्यक्ष बरदान श्रेष्ठले बताएका छन।

मुलुकभर विविध कार्यक्रमका साथ बाल दिवस मनाइरहँदा राजविराज नगरपालिकाले कुनै कार्यक्रम नगरेको भन्दै बालबालिकाहरुले र्‍यालीसहित विरोध गरेका थिए। बालबालिकाका लागि महत्वपूर्ण दिनका रुपमा रहेको बाल दिवसलाई महत्व नदिएकोमा आपत्ति जनाउँदै श्रेष्ठले बालबालिकाको क्षेत्रमा दातृ संस्थामार्फत आउने रकमसमेत पारदर्शी नभएकोले हरहिसाब सार्वजनिक गर्न माग समेत गरे।

बालअधिकारका लागि राष्ट्रिय अभियानका सहसंयोजक सौरभ यादवले नगरपालिकाको अवस्था, पदाधिकारी र कर्मचारीहरूको रवैयाको आलोचना गरे। एक सातादेखि नगरपालिकाको सामाजिक विकास शाखामा बाल दिवस मनाउन बाल सञ्जालले पटक–पटक आग्रह गरे ता पनि वेवास्ता गरेको जिल्ला बाल सञ्जालका अध्यक्ष श्रेष्ठको गुनासो छ । नगर प्रमुख यादवले आफूलाई बाल दिवसबारे जानकारी नभएको र सामाजिक विकास शाखालेसमेत ध्यानाकर्षण नगराएको भन्दै पञ्छिएका थिए। दिवसबारे सहयोग माग्दै बालबालिकाहरु आएको विषयबारे आफूलाई सामाजिक विकास अधिकृतले जानकारी नै नदिएको बताउँदै संविधान दिवसमा बाल दिवस मनाउने प्रतिबद्धता व्यक्त गरे।

बालबालिकाका लागि नगरपालिका र प्रत्येक वडा कार्यालयले बजेट छुट्याउने जानकारी दिँदै सामाजिक विकास अधिकृत मनोजकुमार यादवले कार्य व्यस्तता र मौसम प्रतिकूल भएकाले बाल दिवसमा कार्यक्रम गर्न नसकिएको बताएका छन। अन्य स्थानीय तह, विद्यालय स्तरीय बाल क्लब र गैरसरकारी संस्थाले विभिन्न प्रतियोगिता, खेलकुद गतिविधी र र्‍याली गर्दै बाल दिवस मनाए पनि सदरमुकाम रहेको राजविराज नगरपालिकाले बाल दिवसलाई महत्व नदिएकोमा अधिकारकर्मीहरुलेसमेत आलोचना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *