बाँदर आतङ्कबाट देवानगञ्जका किसानलाई सास्ती

 

सुनसरी । देवानगञ्ज गाउँपालिकामा बाँदर आतङ्क बढेसँगै किसान समस्यामा पर्न थालेका छन् । केही वर्षयता बाँदरले गाउँमा विध्वंश मच्चाउँदै आएपनि स्थानीय र सरोकारवाला निकाय समाधान छैन भनेर हात बाँधेर बसिदिँदा स्थानीय झन् चिन्नित बनेका छन् ।

देवानगञ्ज गाउँपालिकास्थित वडा नं। २, ३ र ४ का स्थानीय बाँदरको आतङ्कबाट सास्ती ब्यहोर्न बाध्य छन् । खेतमा लगाएको मकै, बोडी, पर्वल, लौका र करेलालगायतका तरकारी तथा अन्य अन्नबालीहरू समेत बाँदरहरूले नष्ट गरिदिने गरेको देवानगञ्ज–२ का ३२ वर्षीय विनोद मेहता बताउँछन् ।

विनोदको देवानगञ्ज–३ मोतिटप्पुमा १५ कठ्ठा खेत छ । हाल उनले आफ्नो खेतमा मकै, पर्वल, लौका लगाएका छन् । तर बाँदरले अन्नबाली खाइदिएर र नाश बनाएपछि उनी हैरान छन् । विनोदका अनुसार करिब २५० को सङ्ख्यामा आएका बाँदरले रुँग्न बसेका केही मानिसलाई टेर्दैनन् । अझ एक–दुईजना मात्र रुग्न बसेको खण्डमा ज्यानको समेत खतरा रहने विनोद बताउँछन् । बाँदर भगाउन स्थानीय निकायबाट पहल नभएको विनोद गुनासो गर्छन् ।

विनोद मात्र होइन स्थानीय रुपलाल उराउ र देवचरण उराउको गुनासो पनि उस्तै छ । उनीहरू पनि बाँदर आतङ्कबाट हैरान छन् । विनोद, रुपालल र देवचरण मात्र होइन देवानगञ्जका थुप्रै स्थानीय आफ्नो खेतको बाली बाँदरबाट बचाउन मोतिटप्पु पुग्छन् । उनीहरूलाई खाजा–नास्ता पुर्याउँदै रुग्ने पालो दिन घरका अन्य सदस्य त्यस ठाउँ जान्छन् । उनीहरूको दिनचर्या यसरी नै बित्ने गरेको छ ।

उनीहरूले करिब दुई वर्षअगाडि स्थानीय निकायसँग आफ्नो गुनासो राखेका थिए । तर त्यहाँबाट आफ्नो समस्या सम्बोधन हुन नसकेपछि भने गुनासो राख्न पनि छोडिसके ।

केही वर्ष अघिसम्म देवानगञ्जमा थोरै संख्यामा बाँदरहरू थिए । तर कृषिक्षेत्र र सामुदायिक तथा निजी वन विस्तारको क्रम बढेसँगै करिब ४ वर्षयता बाँदरहरूको सङ्ख्यामा अत्याधिक वृद्धि भएको हो । हाल देवानगञ्ज–४ स्थित शंकरपुर टोलमा मात्रै करिब दुई सय बढी बाँदरहरू छन् । यी बाँदरहरू दक्षिण पश्चिमको जङ्गलबाट बसाई सर्दै गाउँ पसेको हुनसक्ने स्थानीयको आशङ्का छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरको रूपमा सूचीकृत गरेको छ । तर उचित संरक्षण र व्यवस्थापनको अभावमा यी बाँदरहरू स्थानीय कृषकका लागि उल्टै टाउको दुखाईको बिषय बनेका छन् ।

देवानगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष अनिलकुमार भगत भने बाँदर भगाउने कुनै पनि उपाय नभएका कारण पीडित किसानको समस्या सम्बोधन हुन नसकेको बताउँछन् । आफूले बेला–बेला मोतिटप्पुको समस्या सुन्दै आएपनि बाँदर भगाउने उपाय नभएको उनको भनाइ छ । ‘त्यहाँका किसानको गुनासो सुन्दैआएको थुप्रै भयो तर बाँदर धपाउने उपाय के त रु’, प्रतिप्रश्न गर्दै भगत भन्छन्, ‘के गर्ने त बाँदर धपाउन रु समस्याको कुनै समाधान भेटिएन । अब प्रदेश सरकारसँगै यसबारे सुझाव लिन्छौँ ।’

बाँदर धपाउनका लागि बजेट छुट्टिएको भए पनि कसरी भगाउने भन्नेबारे उपाय नभएको उनको भनाइ छ ।

हरिनगरा सव डिभिजन वन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद यादव देवानगञ्जमा रहेको बाँदर आतङ्क र बाँदरहरूको संरक्षण तथा व्यवस्थापनको सवालमा भने स्थानीय बासिन्दा वा गाउँपालिकाबाट कुनै प्रकारको लिखित निवेदन प्राप्त नभएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *