अपराधिक घटनामा बालबालिकाको उच्च संलग्नता, मोरङमा सबैभन्दा बढी

विराटनगर
प्रदेश १ मा एक वर्षको अवधिमा एक सय ६४ बालबालिका विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाइएको छ । प्रदेशभरी मोरङमा सबैभन्दा बढी अपराधिक घटनामा बालबालिकाको संलग्नता देखिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठकाअनुसार कमजोर पारिवारिक आर्थिक अवस्था, पारिवारिक बेवास्था, शिक्षादीक्षा, अभिभावकको संरक्षण तथा मायाको अभावमा बालबालिका अपराधिक गतिविधिमा लाग्ने गरेको अनुसन्धानबाट पाइएको बताए ।

कानुनी ज्ञानका अभावका कारण सही र गलत छुट्याउन नसक्दा अपराधमा बालबालिकाको संलग्नता धेरै हुने गरेको उनको भनाइ छ । त्यसैले धेरैजसो अपराधिक घटनामा बालबालिकाको प्रयोग हुने गरेको डीएसपी श्रेष्ठले बताए ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बालबालिकाको संलग्नतामा अपराध हुने जिल्लामा झापा दोस्रो र सुनसरी तेस्रो स्थानमा रहेको बताए ।

१८ वर्ष मुनीकालाई कानुनले बालबालिका मान्छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश भरी १ सय ६४ जनामध्ये मोरङमा ६४, झापामा झापामा ६१ र सुनसरीमा २७ बालक अपराधमा संलग्न रहेको तथ्याँकले पुष्टि गर्छ । मोरङमा दुई र सुनसरीमा एक बालिका अपराधमा संलग्न छन् ।

प्रदेशका १४ जिल्लामध्ये उदयपुरमा पाँच बालक, ओखलढुंगामामा दुई, इलाम, पाँचथर, ताप्लेजुङ र खोटाङमा एक÷एक जना १८ वर्ष मुनीका बालक अपराधिक घटनामा संलग्न रहेको प्रहरीको रेकर्डमा छ ।

धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा भने बालबालिकाको संलग्नतामा कुनै पनि घटना भएका छैनन् । बालबालिकाको संलग्नतामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, जबरजस्ती करणी, करणी उद्योग, अभद्र व्यवहार, लागूऔषध, बालविवाह, चन्दा संकलन, अपहरण समेतका अपराधिक घटना हुने गरेको एसएसपी कोइरालाले बताए ।

अपराधमध्ये कर्तव्य ज्यानमा १३, ज्यान मार्ने उद्योगमा आठ, चोरीमा १०, जबरजस्ती करणीमा २९, करणी उद्योगमा आठ, अभद्र व्यवहारमा ३४, लागुऔषधमा १०, बालविवाहमा चार, बहुविवाहमा तीन, चन्दा संकलनमा एक र अपहरणमा ४१ जना बालकको संलग्नता छ । लागुऔषधमा एक र बालविवाहमा दुई बालिका संलग्न छन् ।

कोइरालाले अभाव र समस्यामा गुज्रिएका बालबालिकाको पहिचान गर्दै अपराधिक गिरोहले कानुन विपरितका काममा प्रयोग गर्ने गरेको बताए । प्रहरीले पनि शंका नगर्ने भएकाले बालबालिकाको प्रयोग अपराधमा भइरहेको छ,ु उनले भने, ुगरिबी, अशिक्षा र अभावले बालबालिकालाई अपराधमा डोहोर्‍याएको पाइयो

कोइरालाले आर्थिक अवस्था कमजोर हुँदा अभिभावकले खानलाउन, शिक्षादीक्ष दिन नसक्दा तथा बेवास्था गर्दा हरेक इच्छा र आकांक्षा पूरा नभएका कारण विचलित भएर बालबालिका अपराधउन्मुख हुने गरेको बताए ।

प्रदेश १ का प्रहरी प्रमुख डीआइजी ठाकुरप्रसाद ज्ञवाली सबै कुराले अपरिपक्व हुने हुँदा बालबालिका आफै भन्दा पनि अपराधमा अरुले प्रयोग गर्ने गरेको बताउँछन् । ुआफूले के गर्दा कस्तो परिस्थिति उत्पन्न हुन्छ भन्ने कुरा छुट्याउन नसक्ने अवस्थामा अरुले उक्साएर प्रयोग गरिदिन्छन्,ु उनले भने, ुकतिपय बालबालिका संलग्न रहेका घटना आकस्मिक रुपमा पनि भएको पाइएको छ ।ु

पढ्न नसक्दा, परिवारबाट तिरस्कृत हुँदा तथा अभिभावकले इच्छा र चाहना पूरा गर्न नसक्दा पनि बालबालिकाले अपराधको बाटो रोज्ने गरेको जानकारी ज्ञवालीले दिए । अपराध गर्ने बालबालिकालाई विराटनगरस्थित बालसुधार गृहमा राखेर अनुसन्धान र कारवाही अघि बढाउने गरिन्छ । कारागार र प्रहरी हिरासतमा राख्न पाइँदैन ।

डीआईजी ज्ञवालीले अपराधमा बालबालिका संलग्नताको सवालमा पारिवारिक वातावरण, साथी संगत र उनीहरुमाथि गरिने व्यवहारले पनि असर गर्ने बताउँछन् ।अपराधमा बालबालिकाको संलग्नतालाई न्यूनीकरण गर्दै शून्यमा झार्न प्रहरीले जनचेतनामुलक विशेष कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *